Weather : 19.08° Celsius Kathmandu
धादिङ : ६८ औं सहकारी दिवस धादिङ लगायत नेपालभर विविध कार्यक्रम गरेर मनाइएको छ । 'मर्यादित सहकारी र समुन्नत समाज' मुल नाराको साथ सहकारी दिवसको अवसरमा धादिङवेशीमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र साना किसान सहकारी संघको संयुक्त आयोजना र नीलकण्ठ नगरपालिकाको समन्वयमा प्रभातफेरीको आयोजना गरिएको हो । प्रभातफेरीमा सहकारीकर्मीहरु, कर्मचारी तथा विभिन्न सहकारी सञ्चालकहरुको सहभागिता रहेको थियो ।
सदरमुकामको पुछारबजारबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बजारका विभिन्न भाग परिक्रमा गर्दै शीतलबजार पुगेको थियो । प्रभातफेरी पछि मर्यादित सहकारी र सम्मुनत समाज विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
प्रभातफेरीलाई सन्देशमुलक र सहभागीतामुलक बनाउनको लागि सहकारी संस्थाहरुवीच प्रतिस्पर्धा समेत गराइएको थियो ।
प्रभातफेरीमा सहभागी संख्या, सहकारी झल्किने प्लेकार्ड,ब्यानर, झण्डा आदिको प्रयोग, पोशाक तथा भेषभुषा, समयको पालन र अनुशासनका आधारमा गरिएको मुल्याङ्कनमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था प्रथम भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिए ।
दिवसकै अवसरमा श्रोत सहकारीले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा शेयर सदस्य रहेका ५६ जना जेष्ठ सदस्यहरुलाई मायाको चिनो प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेको हो ।
त्यस्तै दिवसकै अवसर पारी सदस्य हेरचाह कार्यक्रम अन्तरगत दुर्घटनामा मृत्यु भएका शेयर सदस्यको (सदस्य नं ६०५३) को परिवारलाई नगद १ लाख ५ हजार रुपैया राहत प्रदान गरेको छ । शेयर सदस्य नवीन बस्नतेको पोखरामा दुर्घटनामा परी मृत्यु भएको थियो ।
सहकारीका अध्यक्ष रुद्र बहादुर खत्रीले मृतक बस्नेतको परिवारलाई चेक हस्तान्तरण गरेका हुन् । सहकारीले दुर्घटनामा मृत्यु भएका शेयर सदस्यहरुको परिवारलाई पारिवारिक राहत कार्यक्रम अन्तरगत आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
सहकारी दिवसकै अवसर पारेर श्रोत सहकारीले टेलिफोन मार्फत सदस्यता सन्तुष्टी सर्वेक्षण पनि गरिरहेको अध्यक्ष खत्रीले जानकारी दिए । कुल सदस्यसंख्याको ५ प्रतिशत (करिव ४०० सय) सदस्यहरुलाई टेलिफोन गरी सल्लाह सुझाव र प्रतिक्रिया माग गर्ने र प्राप्त सल्लाह सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रममा मार्फत सम्वोधन गर्ने अध्यक्ष रुद्र बहादुर खत्रीले जानकारी दिए ।
धादिङवेशीमा मुख्य कार्यालय रहेको श्रोत सहकारीले सल्यानटार तथा गल्छी सेवा केन्द्र मार्फत सदस्यहरुलाई वित्तिय सेवा दिँदै आएको छ । सहरकारी दिवसको अवसरमा त्रिपुरासुन्दरी र गल्छी गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा पनि सेवा केन्द्रबाट सहभागिता जनाइएको कार्यकारी अधिकृत नेपालले जानकारी दिए ।
नेपालमा २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी अभियानको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० मा सहकारी दिवस मनाउने गरिन्छ ।