Weather : 15.12° Celsius Kathmandu
धादिङ : धादिङ जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको सुमन स्मृति कप 9A साइड खुल्ला क्लव स्तरीय फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ ।
आइतबार साँझ प्रतियोगीतास्थल धादिङवेशी खुल्ला मञ्चमा पत्रकार सम्मेलन गर्दै टाइ-सिट ड्र गरी प्रतियोगीताको तयारी सकिएको जानकारी दिइएको हो ।
प्रतियोगीतामा २२ टिम सहभागी हुने र नकआउट प्रतिस्पर्धाको आधारमा खेल सञ्चालन गरिने धादिङ फुटवल क्लवका सचिव सरोज पाण्डेले बताए ।
प्रतियोगीताको बिजेता टिमले १ लाख ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ ।
सेमिफाइनल पुग्ने दुइ टिमलाई सान्त्वना पुरस्कार स्वरुप २५/२५ हजार प्रदान गरिने धादिङ फुटवल क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार प्रतियोगीतामा राष्टिय तथा अन्तराष्टिय स्तरका जुनसुकै खेलाडीले सहभागीता जनाउन पाउने छन् ।
धादिङवेशीका उदाउँदो फुटवल खेलाडी सुमन श्रेष्ठको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो । सुमनको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो ।
फुटवल उद्घाटन अघि विहान खुल्ला दौड प्रतियोगीता समेत हुने भएको छ । फुटवल प्रतियोगीता स्थल खुल्लामञ्चबाट नीलकण्ठ ८ ससाह सम्म पुगेर फेरी प्रतियोगीतास्थल नै फर्किने गरी दौडको रुट तय गरिएको छ ।
दौडमा सहभागी हुनको लागि आइवार साँझसम्म २४ जनाले नाम दर्ता गराएको केही प्रतियोगीहरु भोली विहान आइपुग्ने आयोजक धादिङ फुटवल क्लवले जनाएको छ । दौडमा प्रथम द्धितीय र तृतीय हुने क्रमशः २५ हजार, १५ हजार र १० हजार पाउने छन् ।
दौडको प्रथम पुरस्कारको लागि अमेरिका निवासी नीलकण्ठ १० का स्थानीय उत्तम धमलाले पुरस्कार प्रायोजना गरेका छन् भने फुटवल प्रतियोगीता सञ्चालनका लागि १ सय जना भन्दा बढी ब्यक्तिले नगद सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको अध्यक्ष भण्डारीले बताए ।
नीलकण्ठ ३ का ब्यवसायी शिवराम भण्डारीले हालसम्म सवैभन्दा बढी एक लाख एघार हजार एक सय एघार रुपैया सहयोग गरेका छन् ।
धादिङ फुटवल क्लवका अध्यक्ष भण्डारीले भने, ‘५ दिनसम्म सञ्चालन हुने प्रतियोगीताको खर्च पनि धेरै नै रहेकाले स्वैच्छिक सहयोग अभियान पनि चलिरहेको छ । प्रतियोगीता सम्पन्न गर्नको लागि सहयोग गर्ने सवै क्षेत्रका महानुभावहरुमा हामी आभार पनि ब्यक्त गर्दछौं ।’