Weather : 11.12° Celsius Kathmandu
धादिङ : धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिकाले जिल्लामै पहिलो पटक खानेपानीको शुद्धता जाँच गर्न पानीको गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याएको छ । गाउँपालिकाले ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड मार्फत परिक्षण प्रयोगशाला सुरु गरिएको हो ।
उपभोक्ताहरुलाई सफा, स्वच्छ र सुरक्षित पानी पिउन पाउने संबिधान प्रदत्त मौलिक हकको प्रत्याभूति गराउने उद्देश्यले परीक्षण प्रयोगशाला संचालनमा ल्याइएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवं बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक)ले बताउनुभयो ।
खानेपानी तथा सरसफाई सेवालाई व्यवस्थित, नियमित तथा गुणस्तरयुक्त बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।खानेपानीको शुद्धता जाँच गर्न अन्यन्त्र पठाउनुपर्ने समस्या समाधन भएको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले बताउनुभयो ।
अक्सफाम नेपाल र बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा संचालित वैकल्पिक व्यवस्थापन पद्दति (ए.एम.एम) परियोजनाले प्रयोगशाला संचालनलाई सहयोग गरेको छ । गाउँपालिका भित्र हाल एक सय ५० वटा खानेपानी प्रणालीहरु रहेका छन् ।
एक ३५ वटा ग्राभीटि प्रणाली, १२ वटा लिफ्ट प्रणाली र तीन वटा मिश्रित प्रणालीको आयोजना छ । बोर्डमा हालसम्म २४ वटा खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भई एक हजार छ सय पाँच घरधुरीमा बोर्ड मार्फत नियमित रुपमा सेवा प्रवाह भईरहेको संचालनमा रहेको बोर्डकी कार्यकारी निर्देशक उप्रेतिले जानकारी दिनुभयो ।
रास्ट्रिय खानेपानी गुणस्तर मापदण्ड निर्देशिका २०७९ मा अनिवार्य परीक्षण गर्नुपर्ने र जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभाजन गरिएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ मा २७ वटा पारामिटर थिए भने अहिलेको मापदण्डमा नाइट्राइट थपेर २८ वटा बनाइएको छ । मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक छुट्याइएको छ ।