Weather : 12.12° Celsius Kathmandu
धादिङ : धादिङको बिकटमा पर्ने रुवीभ्याली गाउँपालिकाले अब आफै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
जिल्ला सदरमुकाम धादिङबेसीसंग सडक संजाल जोडिएसंगै गाउँपालिकाले नागरिकको सुविधाका लागि आफैं एम्बुलेन्स संचालन गर्ने तयारी गरेको हो ।
उच्च पहाडी क्षेत्रको विकट वस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन हिमालयन हेल्थ केयर नेपाल नामक संस्थाले गाउँपालिकालाई एम्बुलेन्स सहयोग उपलब्ध गराएको छ ।
अक्सिजनसहित आवश्यक उपकरण जडित एम्बुलेन्सको चाबी र ब्लुबुक गाउँपालिकालाई हस्तान्तरण हेल्थ केयरका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले १० लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराइने जानकारी दिनुभयो ।
रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आय आर्जनको क्षेत्रमा हिमालयन हेल्थ केयरले विगत ३२ बर्षदेखि काम गर्दै आएको छ । स्थानीय जनप्रतिनिधि र अगुवाहरुको आग्रहमा यो पटक एम्बुलेन्स सहयोग उपलब्ध गराइएको बस्नेतले बताउनुभयो ।
जेनतेन सवारी चल्न सुरु गरेको रुवीभ्याली गाउँपालिकाको वस्तीहरुमा एम्बुलेन्स पुग्ने भएपछि बिरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ ।
सडक सञ्जाल र एम्बुलेन्स नहुँदा वर्षमा ५० पटक भन्दा बढी हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल पुर्याउनु पर्ने बाध्यता हट्ने गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले विश्वास व्यक्त गर्नुभयो ।
‘पोहोरसम्म सडक थिएन, पुल नहुँदा गाडी चल्न सक्ने थिएन । यो वर्ष धादिङबेसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण पनि भएको छ’, तामाङले भन्नुभयो–‘अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स संचालन हुँदा स्थानीयले राहत महशुस गर्नेछन् ।’
मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीका स्थानीय पनि एम्बुलेन्स पाएसँगै खुसी भएका छन् । एम्बुलेन्स संचालनको लागि छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
सडक सञ्जाल नहुँदा रुवीभ्यालीबाट सदरमुकाम धादिङबेसी आउजाउ गर्न तीनदेखि चार दिन पैदल हिँड्नुपर्छ ।
धादिङको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङलाई एम्बुलेन्सको ब्लुबुक र साँचो हस्तान्तरण गर्नुहुँदै हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेत ।
हेल्थ केयरले गाउँपालिकालाई एम्बुलेन्स सहयोग उपलब्ध गराएको हो । तस्बिर : शंकर श्रेष्ठ