Weather : 12.12° Celsius Kathmandu
धादिङ : सामुदायिक रेडियोले प्रसारणलाई समयानुकुल ढंगले परिवर्तन गर्दै जानुपर्ने नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ ।
धादिङको गल्छी गाउँपालिकामा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा धेरै मातृभाषा र मौलिक संस्कृति संकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री शर्माले मातृभाषा प्रति समुदायको सकारात्मक धारणा विकास गर्दै यसको प्रयोगमा व्यापकता ल्याउन सामुदायिक रेडियो लगायत सबै सञ्चार माध्यमले मातृभाषाका कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो ।
राजनीतिक परिवर्तनसँगै संवैधानिक र कानुनी रुपमा धेरै परिवर्तन गरिएको भए पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको उल्लेख गर्दै उहाँले कानुनी सचेतताका लागि सञ्चार माध्यमले आफ्ना सामग्री उत्पादन र प्रकाशन प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले सामुदायिक रेडियोलाई अनलाईन लगायतका संचार माध्यमले विस्थापित गर्न नसक्ने बताउनुभएको छ । त्यस्तै उहाँले राजनीतिक सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ ।
रेडियोलाई प्रविधिसँग जोड्न आवश्यक भएकाले सरकारले योजना बनाएर अघि बढ्ने पनि बताउनुभयो । रेडियो धादिङको आयोजनामा आजबाट सुरु भएको परामर्श सम्मेलन बुधबार सम्म चल्ने छ ।
सामुदायिक रेडियोको २५ वर्षीय यात्रा, समस्या तथा चुनौती, आदिवासी भाष संरक्षणमा सामुदायिक रेडियोको भुमिका, सामुदायिक रेडियोको दिगोपना लगायतका विषयमा छलफल गरिने जनाएको छ ।